नेपालको विकास प्रयासमा गैरसरकारी संस्थाहरूको भूमिकाको उल्लेख गर्दै गैरसरकारी संस्थाहरूको भूमिकालाई के कसरी प्रभावकारी तुल्याउन सकिन्छ ? सुझाब प्रस्तुत गर्नुहोस् ।

गैरसरकारी संस्था
स्वयंसेवीका रूपमा कानुनतः गठित, विकास कार्यमा सहयोग पुर्‍याउने, जनताको पीडामा राहत दिने र गैरनाफामूलक एवं तुलनात्मक तवरले स्वतन्त्र प्रकृतिको संस्था गैरसरकारी संस्था (गैसस) हो । यी संस्थाहरूको भूमिका र महत्वलाई सन् १९८० को दशकदेखि नै महसुस गरी खास गरी विकास, मानवअधिकार, मानवीय सहयोग र वातावरण संरक्षणका क्षेत्रमा परिचालित गरिएको पाइन्छ । 
विकासमा गैरसरकारी संस्थाको भूमिका
विश्व परिवेशमा जसरी नै नेपालका गैससहरू विभिन्न चरण पार गर्दै विकसित भएको पाइन्छ । पहिलो पुस्ताका गैसस आकस्मिक उद्धार तथा मानवीय सहायतामा केन्द्रित थिए भने त्यसपछि गैससको ध्यान क्रमशः स्थानीय विकास, नीति पैरवी, जनजागरण, द्वन्द्व व्यवस्थापन, शान्ति निर्माण र अधिकारमा आधारित विकासतर्फ केन्द्रित भएका छन् । संस्था दर्तासम्बन्धी ऐन कानुनबमोजिम स्थापित नेपालका गैससहरू मुख्यतः निम्न कार्यक्षेत्रमा क्रियाशील रहेका छन् । 
  • मानवधिकार र मानवीय सहायता
  • स्थानीय पूर्वाधार विकास र सामुदायिक विकास
  • महिला तथा बालबालिका अधिकार 
  • वातावरण र दिगो विकास
  • नागरिक शिक्षा र सचेतना
  • स्वास्थ्य सेवा 
  • विपद्पछिको खोज उद्धार र सहायता
गैससहरूले कुनै पनि क्षेत्रमा कार्य गर्दा विभिन्न चार तरिकामध्ये कुनै एक वा बहु तरिकाबाट क्रियाकलाप सञ्चालन गर्दछन् । ती हुन्ः प्रत्यक्ष कार्यसञ्चालन, अभियान, जनसम्पर्क र आयोजना व्यवस्थापन । आर्थिक स्रोत, साधन वा जनशक्ति र ज्ञान सीप तथा प्रविधिको प्रसार गर्नको अलावा गैससहरूले निम्नबमोजिमको भूमिका खेलेको पाइन्छ । 
  • परामर्श – जनस्तर र संस्थागत तहमा परामर्शमार्फत माग, दाबी, आवश्यकता मुखरित गराउने भूमिका
  • सहकार्यात्मक – विकासको साझेदारको भूमिका
  • समपूरक – सरकार र अन्य क्षेत्रको उपस्थिति र प्रभावकारिता नभएको क्षेत्रमा कार्य गर्ने भूमिका
  • आलोचनात्मक – दण्डहीनता, मानवअधिकारको उल्लंघन, भ्रष्टाचार, सार्वजनिक सेवाप्रवाहलगायतका विषयमा आलोचना र खबरदारी गर्ने भूमिका
  • समन्वयात्मक –  राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवाल निकायका बीच नीति योजना र स्रोत, साधनको उपयोग सुनिश्चित गर्न सहयोग गर्ने भूमिका
सरकारको कार्यक्षेत्रको संकुचन एवं आर्थिक उदारीकरण र लोकतान्त्रीकरणको एउटा उपजका रूपमा पनि गैससलाई लिने गरिन्छ । फलस्वरूप नेपालको संविधान कानुन र नीतिहरूले शासनमा साझेदारी र सहभागिताको अवधारणालाई महŒव दिएको पाइन्छ ।  नेपालको सन्दर्भमा जनमानसमा शिक्षा र सचेतना अभिवृद्धि गर्न, सामुदायिक विकास र उपभोक्ता अधिकार स्थापित गर्न एवं स–साना पुँजीको सञ्चय र परिचालनमार्फत गरिबवी न्यूनीकरण गर्न गैससले महत्वपूर्ण कार्यहरू सम्पादन गरेका छन् । 
तथापि, राज्यको नियमनकारी शक्तिमाथि अवाञ्छित प्रभाव पार्ने, राष्ट्रियता र सामाजिक सद्भाव उराल्ने एवं आर्थिक तवरले अपारदर्शी हुने र सदाचारिता कायम नराख्नेजस्ता आरोपबाट गैससहरू आलोचित हुने गरेका छन् । 
गैसस प्रभावकारी तुल्याउने उपाय
  • राज्य र जनस्तरबाट अपेक्षा गरिएबमोजिम गैससको भूमिकालाई प्रभावकारी तुल्याउन निम्न उपाय अवलम्बन गर्नुपर्दछ । 
गैससबाट
  • संस्थागत लोकतान्त्रीकरण तीव्र पार्ने
  • परिवार र स्वार्थसमूहको प्रतिनिधित्वको अन्त्य गरी सरोकारवालको प्रतिनिधित्व सुनिश्चित गर्ने 
  • जवाफदेहीता सुनिश्चित हुने गरी बोर्ड र कार्यकारी संयन्त्रको व्यवस्था गर्ने
  • स्रोत, साधनको बाँडफाँड र खर्च पारदर्शी बनाउने
  • नीति र कार्यक्रमलाई राष्ट्रिय कार्यक्रमसँग एकीकृत गर्ने
  • अन्तरनिकाय समन्वय गरी स्रोध, साधन र क्रियाकलापको दोहोरोपन हटाउने
  • गैसस आचार संहिता कडाइका साथ लागू गर्ने
सरकारबाट
  • गैसस दर्ता नियमन र व्यवस्थापनको छाता कानुन र नीति निर्माण गरी लागू गर्ने 
  • गैससको क्षमता र कार्यक्षेत्रको आधारमा वर्र्गीकरण गर्ने 
  • विषयगत कार्यक्षेत्र र भौगोलिक कार्यक्षेत्रबीच सामञ्जस्यता ल्याउने
  • सरकारभन्दा बढी प्रभावकारी हुन सक्ने क्षेत्रमा परिचालित हुन सहायता प्रदान गर्ने
  • नीति र कार्यक्रम तर्जुमा गर्दादेखि नै गैसस भूमिकालाई गणना गर्ने 
  • नियमन संयन्त्रलाई सबल तुल्याउने
  • अनुगमन तथा मूल्यांकनलाई प्रभावकारी संयन्त्र स्थापना गरी कार्यन्वयन गर्ने 
  • आर्थिक पारदर्शिता प्रवद्र्धन हुने गरी मापदण्ड र सदाचार नीति लागू गर्ने 
नागरिकस्तरबाट
  • गैससलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने 
  • वाच डगका रूपमा निगरानी राख्ने 
  • सकारात्मक परिवर्तनका लागि हातेमालो गर्ने
  • अन्त्यमा, राज्यको बाध्यकारी शक्ति, निजी क्षेत्रको आर्थिक शक्ति र गैसस एवं नागरिक समाजको सामाजिक शक्तिबीच सन्तुलन ल्याई राष्ट्रिय रूपमा एकीकृत र समन्वयित ढंगले कार्यसम्पादन गर्दै गैससलाई सरकारको विश्वसनीय साझेदारका रूपमा विकास गर्न आवश्यक छ । 

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०