सार्वजनिक प्रशासनमा नौलो बहस : के हो नीलो-समुद्र रणनीति

नीलो समद्रले कोही नभएको खुला ठाउँ भन्ने जनाउँछ । कोही प्रतिस्पर्धी नभएको खुला बजार क्षेत्र, जहाँ कुनै संगठनले आफ्नो प्रारम्भिक नवीन सोचसहित नयाँ उत्पादन प्रवेश गराउन सक्छ । त्यसका लागि चालिने रणनीति नीलो समुद्र रणनीति हो । सन् २००४ मा चान किम र रेनी माउबोर्नले यो अवधारणा ल्याए । उनका अनुसार कसैले हात नहालेका बजार वा क्षेत्रमा ध्यान दिन सके प्रशस्त आम्दानी गर्न सकिन्छ ।
बजारमा प्रतिस्पर्धी लाभलाई मात्र हेर्ने धेरै मोडल विकसित छन् । तर, नीलो–समुद्र रणनीतिले प्रतिस्पर्धीसँग उनीहरूको हिस्सा नखोसी नवीन खोजद्वारा कार्य गर्ने भन्छ । यसरी सिर्जना गरिने अवसरहरूलाई ‘नीलो–समुद्र अवसरहरू’ सम्बोधन गरिन्छ । नीलो समुद्र एक विशाल खुला क्षेत्र हो । जहाँ कुनै प्रतिस्पर्धीको नामनिशान हुँदैन, पहिला केही गरिएकै हुन्न, तसर्थ प्रतिस्पर्धाको प्रश्न उठ्दैन । त्यहाँ खुला विचार र उत्पादनलाई विचरण गराउन सकिन्छ । त्यहाँ सरल तरिकाले सेवाग्राही सन्तुष्ट पारिन्छ । तर, यसविपरीत ‘रातो समद्र’मा पहिलैदेखि थुप्रै दाबेदार, तीव्र प्रतिस्पर्धा र एकले अर्कोलाई पछार्ने कार्य हुन्छ ।
नीलो समुद्र रणनीतिले नवप्रवर्तन र रणनीतिक विकासमा विशेष जोड दिन्छ । सेवाग्राहीलाई नयाँ भ्यालु र नयाँ अवसर सिर्जना गरिन्छ । व्यवस्थापकहरू अन्य प्रतिस्पर्धीलाई गन्दैनन् र उनलाई बेन्चमार्क मान्ने त कुरै आउँदैन । उनीहरू विद्यमान सीमाभन्दा माथि बसेर सोच्छन् । प्रतिस्पर्धीहरूसँग झगडा नगरी व्यवस्थापकले नयाँ क्षेत्र सहजै क्याप्चर गर्छन् ।
नीलो–समुद्र रणनीति लिनुपूर्व व्यवस्थापकले चारवटा प्रश्नहरूको उत्तर खोज्छन् । 
१. संस्थामा यस्ता के तत्व छन् जुन शीघ्र हटाउनुपर्छ ?
२. संस्थाको कार्यक्षेत्रमा मापदण्डभन्दा तलका र घटाउनुपर्ने तत्व के–के छन् ?
३. संस्थाका कुन तत्व कार्यको मापदण्डभन्दा माथि उठाउनुपर्ने छन् ?
४. कुन तत्व संस्थामा अहिलेसम्म अफर गरिएका छैनन् ?
यस प्रक्रियामा सेवाग्राही सबैभन्दा महत्वपूर्ण मानिन्छन् । संस्थाका उपलब्धि र क्षमता मात्रलाई ध्यान दिएर पुग्दैन । बरु शून्यबाट सुरु गर्दा उचित मानिन्छ । यी ४ प्रश्नको उत्तर आएपछि एकदमै नयाँ प्रकारको उत्पादन वा सेवा सिर्जना गर्न सक्ने अवस्थामा पुगिन्छ । यसले एक नयाँ मूल्य–वक्ररेखा तयार गर्छ, नयाँ खालको मूल्य प्रस्ताव गर्छ । जुन विद्यमान उत्पादवा सेवा मूल्यभन्दा नितान्त फरक हुन्छ । नीलो समुद्र रणनीति दुई प्रकारले बन्छ :
१) एकदमै नयाँ खालको संरचनामा नयाँ अवसरहरू सिर्जना गरेर वा
२) अहिले भइरहेको कार्यक्षेत्रकै रणनीतिक सीमा बढाएर ।
नीलो समुद्र रणनीति ठोस संरचनाविनाको योजना हो, तसर्थ यसको कार्यान्वयन कठिन हुन्छ । मुख्य रूपमा नीलो समुद्र रणनीतिमा ६ प्रकारका मार्गनिर्देशक सिद्धान्त पालना गरिन्छन् । जसले विभिन्न ६ प्रकारका जोखिम घटाउँछन् । ती हुन्ः
१) खोजीको जोखिम, २) योजनाको जोखिम, 
३) मागको जोखिम, ४) व्यावसायिक मोडलको जोखिम, ५) संगठनको जोखिम र ६) व्यवस्थापनको जोखिम । 
देहायका यी सिद्धान्त नयाँ क्षेत्र वा बजार सिर्जनाका मार्गदर्शक नै हुन् । 
पहिलो – बजारका सीमाहरूको पुनर्निर्माण । सकेसम्म फाइदा दिने क्षेत्र पहिचान गर्न सकिएमा यसले खोजीको जोखिमलाई निस्तेज पार्छ ।
दोस्रो – फराकिलो परिदृश्यलाई केन्द्रबिन्दु । विद्यमान तथ्य–तथ्यांकहरू केलाएर योजना गर्दा आउने जोखिम नियन्त्रित हुन्छन् ।
तेस्रो – विद्यमान मागभन्दा धेरै परको सोच । नयाँ उत्पादन वा सेवाका लागि आइपर्ने अत्यधिक मागबारे पूर्वपहिचान गर्न सक्दा मागको जोखिम कम हुन्छ ।
चौथो – व्यवस्थित रणनीति शृंखला । लामो समयसम्म नाफा दिने खालको पूर्वयोजना बनाएर व्यावसायिक मोडलको जोखिम कम हुन्छ ।
पाँचौँ – सांगठनिक बाधाबाट पार । नीलो समुद्र रणनीति कार्यान्वयनमा आउन सक्ने सांगठनिक जोखिमहरू पहिचान र नियन्त्रणद्वारा कम गरिन्छ ।
छैटौँ – कार्यान्वयनलाई पनि रणनीतिमा रूपान्तरण । कर्मचारी उत्प्रेरणा र क्षमतालाई ध्यान दिँदै व्यवस्थापकीय जोखिम कम गरिन्छ ।
समग्रमा, यो रणनीति एक सैद्धान्तिक मोडल हो, त्यसैले धेरै व्यवस्थापकलाई यो एक रहस्योद्घाटनजस्तो लाग्ने गर्छ । यस मोडेलले ‘कसरी गर्ने’ भन्दा पनि ‘के गर्ने’ भन्ने बताउँछ । तर, नीलो समुद्र रणनीति सबै खालका संगठनमा लागू हुन्न । नेपालको सार्वजनिक प्रशासनमा यसलाई नयाँ खालका सेवाहरूको खोजी र अहिलेसम्म सार्वजनिक क्षेत्रमा प्रयोग नै नभएका पद्धति सुरुवात गर्न प्रयोगमा ल्याउन सकिन्छ । त्यस्तै, सार्वजनिक संस्थानका सेवा र उत्पादनमा नवप्रवर्तन ल्याउन यो मोडल सहायक हुन सक्छ ।

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०