परिवर्तन व्यवस्थापनको संक्षिप्त परिचय दिँदै परिवर्तनले सिर्जना गर्ने अवसर र यसको दिगोपनाका लागि अपनाउनुपर्ने व्यवस्थापकीय रणनीतिहरूको चर्चा गर्नुहोस्।

परिवर्तन र परिवर्तन व्यवस्थापन
सामान्य अर्थममा परिवर्तनले चालू स्थितिको तुलनामा हुने विचलन वा फरकपनालाई जनाउँदछ । आन्तरिक तथा बाह्य विभिन्न तत्वको उपस्थितिमा हुने समय र स्थान विशेषको फरकलाई सैद्धान्तिक रूपमा परिवर्तन भनिन्छ । परिवर्तन सकारात्मक वा नकारात्मक, क्रमबद्ध वा अप्रत्यासित, सानो वा ठूलो मात्राको, रणनीतिक वा अनिवार्य किसिमको हुने गरेको पाइन्छ । स्वभावतः परिवर्तनले व्यक्ति संगठन समाज र यिनीहरूको लक्ष्य, उद्देश्य, इच्छा, आकांक्षा, अपेक्षा मूल्य मान्यता तथा संरचना र कार्यविधिमा समेत अनिश्चितता वा भिन्नता पैदा गर्दछ । यस भिन्नता वा अनिश्चितताबाट सिर्जना हुने अवसर वा भयका कारण परिवर्तनको स्वीकार वा प्रतिरोध हुने गर्दछ । यही स्वीकार्यताको व्यवस्थापन र प्रतिरोधको सामना गरी नकारात्मक असरको निराकरण गर्दै परिवर्तनको वाञ्छित नतिजा प्राप्त गर्ने कला वा विधिलाई परिवर्तन व्यवस्थापन भनिन्छ ।
परिवर्तन अवसर कि समस्या ?
परिवर्तन अवश्यम्भावी छ र यसले अन्ततोगत्वा अवसर नै सिर्जना गर्दछ । यसको नकारात्मक असर देखिए तापनि कुशल व्यवस्थापनको माध्यमबाट नकारात्मक असरको निराकरण गरी अवसरमा परिणत गर्न सकिने हुनाले परिवर्तन समस्याभन्दा बढी अवसर हो । परिवर्तनले सिर्जना गर्ने महŒवपूर्ण अवसर निम्नबमोजिम रहेको पाइन्छ । 
१. व्यक्तिगत अवसर 
  •  परिवर्तनमा समायोजित हुन पाउने
  •  आफूलाई विकसित गर्दै लैजाने
  •  सुधार र परिमार्जन गर्ने
  •  नेतृत्व क्षमता विकास गर्ने
२. सांगठनिक अवसर
  •  संरचना र कार्यविधिमा सुधार 
  •  मितव्ययिता कार्यदक्षता र कार्यकुशलता अभिवृद्धि गर्ने 
  •  नतिजामुखी हुने 
  •  समायोजित र अनुकुलित हुने 
  •  उत्तम गुण र क्षमताको जित हुने 
  •  सेवाग्राहीको सन्तुष्टिलाई आत्मसात गर्ने
३. वातावरणीय वा अन्य असर
  •  सैद्धान्तिक अवधारणालाई आत्मसात गर्ने
  •  आर्थिक सामाजिक विकासका नवीनतम मोडलहरू भित्र्याउने
  •  सरकारको साख र वैधता पुष्टि गर्ने
  •  दिगो जनमत प्राप्त गर्ने
  •  अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने
माथि उल्लेखित अवसर प्राप्त हुने भए तापनि नेपालको सार्वजनिक व्यवस्थापनको क्षेत्रमा परिवर्तनको प्रतिरोध हुने गरेका प्रशस्त उदाहरण पाइन्छन् । वास्तवमा देहायका कारणले परिवर्तनलाई समस्याका रूपमा हेरिने गरेको हो । 
  •  परिवर्तनले माग गर्ने ज्ञान सीप र दक्षतामा कमी
  •  परिवर्तन व्यवस्थापनको खास कर्ता वा नेतृत्व  क्षमताको कमी 
  •  परिवर्तनको सकारत्मकताभन्दा पनि यथास्थिति र निर्वाहमा रमाउने संस्कार
  •  वैदेशिक वा वाह्य हस्तक्षेपको भय
  •  सामाजिक सांस्कृतिक विश्रृंखलताको डर
  •  व्यक्तिगत वा समूहगत स्वार्थ 
४. परिवर्तन व्यवस्थापन कसरी गर्ने ?
सफल परिवर्तन व्यवस्थापनको लागि परिवर्तनलाई समस्याको रूपमा हेर्ने संस्कार र व्यवहारमै परिवर्तन जरुरी हुन्छ । देहायका मूलभूत रणनीतिहरूको अवलम्बन गरी परिवर्तनको सफल व्यवस्थापन गर्न सकिन्छ । 
१.    परिवर्तनका अन्तरवस्तुको परिभाषित गर्ने 
२.    दूरदृष्टि र ध्येय निर्धारण 
३.    प्राप्य लक्ष्य र उद्देश्यहरू तय 
४.    परिवर्तनको वातावरणीय स्क्यानिङ विश्लेषण
५.    चुनौतीलाई अवसरमा बदल्ने र दुर्बल पक्षको न्यूनीकरण 
६.    विस्तृत कार्यान्वयन योजना तयार
७.    जनशक्ति र वित्तीय साधनस्रोत जुटाउने
८.    कार्यसम्पादन सूचक र कार्यविधि तय 
९.    अनुगमन तथा मूल्यांकन सूचक र संयन्त्र तयार 
१०.     सबल नेतृत्व प्रदान गर्ने
परिवर्तन व्यवस्थापन र यसको दिगोपनाका सम्बन्धमा विभिन्न विद्वानहरूले फरकफरक मोडलहरू सुझाएको पाइन्छ । कुर्त लिबिनको तीन तहले योजना व्यवहार र कार्यविधिमा परिवर्तन र मूल प्रणालीमा एकीकरण गर्नुपर्ने बताएको छ भने कोटरले विभिन्न आठ तह पार भएर परिवर्तन व्यवस्थापन गर्न सकिने कुरा उल्लेख गरेका छन्। 
तर, सारांशमा, परिवर्तनले अपेक्षा गरेको सुधार र यसको दिगोपनाका लागि पाँचवटा तत्वहरू अनिवार्य मानिन्छन् । ती हुन् – सोच, सीप, प्रोत्साहन, स्रोतसाधन, कार्ययोजना र नेतृत्व । यी पाँचमध्ये एकको मात्र पनि कमी हुँदा परिवर्तनको सकारात्मक लाभ व्यक्ति, संगठन र समाजले प्राप्त गर्न सक्दैन । साझा दृष्टिकोण र बुझाइ, प्रतिबद्धता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, विज्ञता, सक्षम नेतृत्व र सरोकारवालासमेतको स्वामित्वमा विशेष ध्यान पुर्‍याउन सकिएमा परिवर्तनले अपेक्षा गरेअनुसारको नतिजा र यसको दिगोपना सुनिश्चित गर्दछ । 

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०