सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०

सार्वजनिक मामिलाको सञ्चालन : सार्वजनिक व्यवस्थापन
नागरिकको सर्वोत्तम हितका लागि सार्वजनिक सरोकारका मामिलाहरूको सञ्चालन गर्नुलाई सार्वजनिक व्यवस्थापन भनिन्छ । उपलक्ध स्रोत साधनको उचित परिचालन गरी सांगठनिक लक्ष्य हासिल गर्न चाँजोपाँजो मिलाउनुलाई समेत व्यवस्थापन भनेर बुझिन्छ । सन् १९८० सम्म प्रशासन भनेर बुझिने विषय नै पछि गएर सार्वजनिक व्यवस्थापन भयो । लुथर गुलिकका अनुसार सार्वजनिक व्यवस्थापनअन्तर्गत योजना तर्जुमा गर्ने, संगठनको स्थापना गर्ने, जनशक्तिको व्यवस्था गर्ने, नेतृत्व दिने, निर्देशित गर्ने, नियन्त्रण गर्ने, प्रतिवेदन÷सूचना प्रवाह गर्ने, र बजेट बनाउने एवं लागू गर्ने कार्य पर्दछन् ।
प्रशासन शब्द सार्वजनिक सेवामा र व्यवस्थापन शब्द निजी क्षेत्रमा प्रचलित थियो । प्रशासनको तुलनात्मक अध्ययनपछि यसमा व्यापक सुधारको खाँचो देखियो । यही खाँचो पूरा गर्न प्रशासनमा निजी क्षेत्रका राम्रा गुणहरू अंगीकार गरी यसलाई सार्वजनिक व्यवस्थापन भन्न सुरु गरियो । अर्थात् परम्परागत र एकसूत्रीय प्रशासन व्यवस्थामा निजी क्षेत्रका राम्रा गुण अंगीकार गरिएपछि यो सार्वजनिक व्यवस्थापनका नामबाट परिचित भयो । यही परिवर्तनस्वरूप सार्वजनिक क्षेत्रमा निजीकरण, सेवा करार, कार्यसम्पादन सम्झौता, गुणस्तर परीक्षण, व्यवस्थापन परीक्षण, सेवाग्राहीका गुनासा सुनुवाइजस्ता विषयले प्रवेश पाए ।
सार्वजनिक व्यवस्थापनका विभिन्न कार्यक्षेत्र
(क) योजना व्यवस्थापन : मुलुकको सर्वाङ्गीण विकासका लागि उपयुक्त योजना तर्जुमा गर्ने, जनसहभागिता बढाउने र त्यसको प्रभावकारी सञ्चालन गर्ने कार्य सार्वजनिक व्यवस्थापनले गर्दछ । जनताको मागअनुसारको नीति, कार्यक्रम तर्जुमा गरी जनताको माग र आवश्यकताका आधारमा त्यसलाई सञ्चालन गर्नुपर्दछ । जसका लागि आवश्यकताका आधारमा नीति तर्जुमा र जनताको मागका आधारमा योजना तर्जुमा, छनोट र कार्यान्वयन गर्नुपर्दछ ।
(ख) जनशक्ति व्यवस्थापन : सार्वजनिक व्यवस्थापन सञ्चालन गर्ने एक मात्र जीवन्त र चलायमान आधार मानव स्रोत हो । प्रभावकारी नीति तर्जुमादेखि योजनाको कार्यान्वयनका लागि महत्वपूर्ण पक्ष सार्वजनिक क्षेत्रमा दक्ष, योग्य, सीपयुक्त जनशक्ति आवश्यकता पर्दछ । योग्य, दक्ष, प्रतिस्पर्धी जनशक्तिले मात्र समग्र व्यवस्थापनमा योगदान गर्न सक्ने भएकाले योग्यतम् जनशक्तिको प्राप्ति, विकास, उपयोग र सम्भार गर्ने कार्य सार्वजनिक प्रशासनका लागि अपरिहार्य रहन्छ ।
(ग) विकास व्यवस्थापन ः नागरिकको राज्यप्रतिको विकासको आकांक्षा सम्बोधन गर्ने कार्य सार्वजनिक व्यवस्थापनले गर्दछ । सरकारका कार्यहरूमध्ये विकास प्रमुख एवं आधारभूत कार्य हो । विकासको पहिचान, सञ्चालन, उपभोग र रेखदेखको कार्यमा समेत सार्वजनिक व्यवस्थापन प्रत्यक्ष सहभागी रहनुपर्दछ ।
(घ) संगठन व्यवस्थापन ः सार्वजनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन संगठनको ठूलो भूमिका रहन्छ । छरितो, विकेन्द्रीकृत, आधुनिक प्रविधियुक्त संगठनले मात्र अपेक्षित परिणाम दिन सक्तछ । केन्द्रीकृत, अधिक पदसोपानयुक्त, अधिकारनियन्त्रित संगठनले उचित प्रतिफल नदिएकाले नै सार्वजनिक व्यवस्थापनको सिद्धान्तले उपयुक्त संगठन संरचनामा जोड दिएको हो ।
(ङ) सेवाको व्यवस्थापन : राज्यको उत्पति नै नागरिकको सेवाका लागि भएको हो । यस्ता सेवा सुविधा मितव्ययी, छिटो–छरितो एवं प्रभावकारी हुनुपर्दछ । निजी क्षेत्रसमेतका राम्रा गुणहरू अवलम्बन गरी सेवाग्राहीलाई सेवाका लागि सँगसँगै लानुपर्दछ । नयाँ सार्वजनिक व्यवस्थापनले सेवाको प्रभावकारिता र सेवाग्राहीको सन्तुष्टिमा जोड दिन्छ ।
(च) बजेट व्यवस्थापन : बजेटको सुनिश्चितताविना सेवा प्रवाह वा विकास निर्माण कुनै पनि प्रक्रिया अगाडि बढ्न सक्दैन । सार्वजनिक व्यवस्थापनले बजेटको समेत व्यवस्था मिलाउनुपर्दछ । स्रोतको पहिचान, प्राप्ति, उपयोग, लेखांकन र लेखापरीक्षणसम्मका कार्य बजेट वा वित्त व्यवस्थापनअन्तर्गत पर्दछन् ।
यसरी,
सार्वजनिक मामिलाको सञ्चालन गर्ने सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्र व्यापक र गतिशील हुनैपर्दछ । न्यूनतम स्रोतको अधिकतम परिचालन गरी अत्युतम नतिजा हासिल गराउनु व्यवस्थापनको कौशल हो । पछिल्लो समय यस क्षेत्रमा आएका नवीन सार्वजनिक व्यवस्थापन, नयाँ सार्वजनिक सेवा र नयाँ सार्वजनिक प्रशासनका राम्रा पक्षहरूको अवलम्बन गर्दै कुशल व्यवस्थापनका माध्यमबाट साधन स्रोतको प्रभावकारी परिचालन गरी जनहित कायम गर्नु आजको आवश्यकता हो।

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।