सार्वजनिक प्रशासनमा नयाँ बहस : प्रभावशाली व्यक्तिका सात बानी

स्टेफेन कोभेले १९८९ मा यी सात बानीबारे बताएपछि एक असल व्यवस्थापकका बानी एक फरक दृष्टिकोणसहित सामुन्ने आयो । यो अवधारणा १९९० मा बढी लोकप्रिय हुन पुग्यो । तर, यो अहिले पनि उत्तिकै सान्दर्भिक छ । कोभेले बताएका अति प्रभावशाली व्यक्तिहरूमा हुने सात बानी जीवन तथा व्यवसाय दुवैतर्फ सफलताका लागि आवश्यक मानिन्छ । उनका अनुसार प्रभावशाली व्यक्तिहरू : 
१. पहिले नै सक्रिय हुने गर्छन् ।
२. अन्तमा के हुन्छ भन्ने काम सुरु गर्ने वेलामा मस्तिष्कमा राखेर कार्य प्रारम्भ गर्छन् । 
३. पहिला राख्नुपर्ने चिजहरूलाई सधैँ पहिला नै राख्छन् ।
४. सबैको जित होस् भन्ने सोच्छन् ।
५. पहिले बुझ्ने गर्छन् अनि बल्ल आफू अरूबाट बुझिने प्रयास गर्छन् ।
६. शक्ति एकत्रित गरेर थप शक्ति सिर्जना गर्न सक्षम हुन्छन् ।
७. करौँतीलाई सधैँ तिखार्ने गर्छन् ।
प्रभावशाली व्यवस्थापक वा व्यक्तिले त्यही गर्छन्, जुन उनीहरूले ठीक र महत्वपूर्ण अनुभव गर्छन् । त्यस्ता कार्य उनीहरू एकदम होसपूर्वक नै गर्छन् । यसरी यस अवधारणाले किन सफल व्यक्तिहरू आफ्नो व्यक्तिगत जीवन र व्यावसायिक जीवनमा सफल भएका हुन् भन्ने प्रश्नको उत्तर खोज्न सहायता गर्छ ।
यस अवधारणाले एक स्व–सहयोगी योजना प्रदान गर्छ । हाम्रो व्यक्तिगत बृहत् सोचले हाम्रा अरूसँग हुने अन्तरक्रियालाई सीधै प्रभाव पार्ने गरेको हुन्छ र यसै सोचले अरूद्वारा हामीसँग गर्ने व्यवहारलाई पनि तय गर्छ । तसर्थ, आफ्नो बृहत् सोच बुझ्दै आफ्ना अरूसँग हुने वार्तालापमा सुधारको सुरुवात गर्न सकिन्छ । सफल हुनका लागि आफ्नो अरूसँग हुने अन्तरक्रियालाई राम्ररी मूल्यांकन गर्न अति आवश्यक रहन्छ ।
प्रभावशाली व्यवस्थापक वा व्यक्तिले त्यही गर्छन्, जुन उनीहरूले ठीक र महत्वपूर्ण अनुभव गर्छन् । त्यस्ता कार्य उनीहरू एकदम होसपूर्वक नै गर्छन् ।
कोभेले सुझाएका सात बानीको सुरुवात परनिर्भरताको चरणबाट अघि बढ्दै हुन्छ । यी सात बानीमध्येका पहिला तीन बानीले आत्मनिर्भरता बढाउने गर्छन् :
१. पहिले नै सक्रियता : आफ्नो व्यवहारका लागि आफैँले जिम्मेवारी बोध गर्ने । परिस्थितिलाई दोष नदिने । आफ्नो प्रतिक्रिया सजग भएर मात्र तय गर्ने । आफूलाई गर्व अनुभव हुने गरी अरूलाई प्रतिक्रिया दिने । यस्तो गर्न असहज भए पनि आफैँलाई कर गरेर सो गर्ने गर्नुपर्छ ।
२. अन्तमा के हुन्छ भन्नेबारे काम सुरु गर्ने वेलामा नै मस्तिष्कमा राखेर प्रारम्भ गर्ने : चाहेको परिणाम अहिले नै दृष्टिगत गर्ने । आफू कहाँ पुग्ने हो भन्नेबारे पहिले नै स्पष्ट दृष्टिकोण बनाउने । के कार्य गर्ने हो, सोबारे स्पष्ट जानकारी हुनु आवश्यक हुन्छ ।
३. पहिला राख्नुपर्ने चिजलाई सधैँ पहिला नै राख्ने : अनुशासित हुन सक्दा ‘जरुरी’भन्दा ‘महत्वपूर्ण’मा ध्यान सजिलै जाने गर्छ । कोभेले महत्वपूर्ण कार्यहरूको लिस्ट नै दिएका छन् : सम्बन्ध बढाउने, आफ्नो व्यक्तिगत मिसन कथन लेख्ने, लामो योजना बनाउने, अर्को साताका लागि गर्ने प्रस्तुतीकरणको अहिलेदेखि नै तयारी थाल्नेलगायत । आखिरी मिनेटका लागि कामहरू निचरिने गरी नराख्ने । अहिले देखिने तर कम महत्वपूर्ण कार्य ‘जरुरी’ भई प्रस्तुत हुने गर्छन्, ती केलाउने गर्नुपर्छ । यति गरेपछि बल्ल आत्मनिर्भरताको चरण पार हुन्छ र आफ्ना महत्वपूर्ण कार्य गर्न सक्षम भइन्छ ।
४. सबैको जित सोच्ने : सबैका लागि स्रोतहरू पर्याप्त छन् भन्ने सोचमा विश्वास राख्नुपर्छ । कुनै एक व्यक्तिको सफलता आर्जनका लागि अर्कोको असफलता आवश्यक हुन्छ भन्ने कत्ति पनि सोच्नुहुन्न । सबैको भलो हुने गरी समस्याका हल खोज्नतर्फ लाग्नुपर्छ ।
५. पहिले बुझ्ने अनि बल्ल बुझिने : आफ्नो वरिपरिकाहरूलाई विजेताजस्तो आभास गराउन सक्नुपर्छ । उनीहरूसँग काम गर्ने क्रममा धेरै कुरा सिक्न सकिन्छ, यसका लागि चुप लागेर सुन्ने र राम्ररी ध्यान दिने गर्नुपर्छ । गहिरो बौद्धिक, विश्लेषणात्मक तथा भावनात्मक तहमा नै अरूलाई बुझ्न र सुन्न एक दह्रो र सकारात्मक नियत राख्नुपर्छ । कसैलाई सुझाब दिनुपूर्व समस्याको लक्षण राम्ररी पहिचान गर्नु आवश्यक हुन्छ ।
६. शक्ति एकत्रित गरेर थप शक्ति सिर्जना गर्ने (इनर्जी प्राप्त गर्ने) : आफ्नो मस्तिष्कलाई सिर्जनशील र ताजा विचारका लागि सदैव खुला राख्ने । कोही पनि नवीन खोजका शुरुवातकर्ता, पथ–प्रदर्शक वा पायोनियर हुन सक्छ । आफ्ना सहयोगी तथा मित्रहरूलाई यो बताउन सक्नुपर्छ कि कुनै कुराको अलग–अलग अंशभन्दा तिनको योग ठूलो हुने गर्छ । मानिस–मानिसबीच हुने फरकपनलाई कुशलतापूर्वक उपयोग गरी परिणाम प्राप्त गर्न सकिन्छ ।
७. करौँतीको धार तिखार्ने : माथिका ६ बानी नियमित रूपमा बसाल्न सकेपछि अन्तरनिर्भरताको चरणमा पुगिन्छ । अब समाजमा, परिवारमा, साथीभाइमा र सहकर्मीहरूबीच व्यक्ति प्रभावशाली र नाम चलेको कहलिन्छ । तर, प्रभावशाली भइयो भनेर चुप लागेर बस्ने होइन, निरन्तर आफूलाई सुधार गर्ने कार्य गरिराख्नुपर्छ । निरन्तर सिक्न खोज्ने र नयाँ कुरा पत्ता लगाउने कार्यलाई विराम दिनुहुन्न ।
नेपालको सार्वजनिक प्रशासनको सन्दर्भमा सार्वजनिक व्यवस्थापकहरूलाई यी बानीको जानकारी राख्दै अनुशासित भई सुधारका लागि प्रयास हुन सकेमा समग्र सार्वजनिक प्रशासनमा क्रान्ति नै ल्याउन सकिन्छ ।

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०