सूचना प्रविधिसँग रणनीतिक सामीप्यता मोडेल

सूचना प्रविधिको कुशल प्रयोग गर्न सक्दा एकै मानिसले पचासौँ मानिसको कार्य गर्न सम्भव हुन्छ । हेन्डर्सन र बेंकटरमणको रणनीतिक सामीप्यता मोडेलले संगठनको रणनीति, संगठनको सूचना प्रविधि संयन्त्र, सञ्चालनस्तरका कार्यहरू र सूचना प्रविधि पूर्वाधारहरूबीचको सम्बन्धलाई नक्सांकन गर्छ । यस मोडेलले संगठनको रणनीति र सूचना प्रविधिको रणनीतिलाई मिलाउँदै तिनीहरूलाई निकट लिएर आउँछ । यस मोडेलले दुईवटा पक्ष प्रस्ट पार्छ :

१. स्ट्राटेजिक फिट (Strategic fit) : संगठनका आन्तरिक पूर्वाधार र प्रक्रियाहरूले बाहिरी रणनीतिसँग कति तादात्म्य राख्छन् । 
२. कार्यगत एकता : संगठनमा गरिने योजनाहरू सूचना प्रविधिसँग कति निकट छन् ।
Strategic fit शब्दले संगठनमा सूचना प्रविधि के कसरी फिट छ भन्ने कुरा स्पष्ट गर्छ, जसमा : 
  • संगठनको कार्यगत रणनीतिमा सूचना प्रविधि क्षेत्रबाट प्राप्त हुने सहयोगको सम्भावना र प्रभावकारिता हेरिन्छ । 
  •  संगठनको कार्यसञ्चालन तहका प्रक्रियाहरूमा सूचना प्रविधि पूर्वाधार कति मेल खाएको छ हेरिन्छ ।
सांगठनिक रणनीतिविना एक्लै संगठनको सूचना प्रविधिको रणनीति तयार हुनै सक्दैन भन्ने यस मोडेलले बताउँछ । संगठनका प्रक्रियाहरूमा सूचना प्रविधिको घनिष्टतालाई यसले उजागर गर्छ । अहिलेको समयका धेरै संगठनहरूमा सूचना प्रविधि एक महŒवपूर्ण पाटोका रूपमा देखिएको छ । यस मोडेलले संगठनमा तीन प्रकारका बाटा देखाउँछ । 
१. संगठनका नीतिहरू र संगठनमा प्रयोग गर्न सकिने सूचना प्रविधिबीचको सम्पर्क सेतु यस मोडेलबाट पत्ता लाग्छ ।
२. संगठनमा सूचना प्रविधि रणनीति र स्वचालित पद्धतिबाट प्राप्त हुन सक्ने सहयोग यसले स्पष्ट पहिचान गर्न सक्छ ।
३. संगठनमा सूचना प्रविधिको कुशल प्रयोग गरेर लिन सकिने विविध फाइदाबारे जानकारी गराउँछ । यस मोडेलका प्रतिपादकहरूले संगठन र सूचना प्रविधिको सम्बन्धलाई चार कोणबाट हेर्न सकिने बताएका छन् :
१. रणनीतिक विकासको दृष्टिबाट 
रणनीतिक व्यवस्थापन अन्तर्गतको यस परम्परागत दृष्टिकोणमा सांगठनिक रणनीति, सूचना प्रविधि पूर्वाधार र प्रक्रियाहरूलाई पदसोपानमा आधारित सम्बन्धअनुसार हेरिन्छ । संगठनका सञ्चालकहरूले रणनीति तय गर्छन् । त्यसैका आधारमा सूचना प्रविधि पूर्वाधार निर्माण हुन्छन् । सांगठनिक रणनीतिलाई नै सूचना प्रविधि पूर्वाधारको मार्गदर्शकका रूपमा लिइन्छ ।
२. प्रविधिगत क्षमताको दृष्टिबाट
यसमा पदसोपानभन्दा पनि व्यवस्थापन रणनीति बढी महŒवपूर्ण हुन्छ । सांगठनिक रणनीति नै सूचना प्रविधि रणनीति र पूर्वाधारको प्रारम्भिक बिन्दु रहन्छ । प्रविधिलाई व्यवस्थापनले हेर्ने दृष्टिकोणका आधारमा सूचना प्रविधि कसरी अघि बढ्ने भन्ने निधो हुन्छ र त्यसैका आधारमा विविध सूचना प्रविधि पूर्वाधारहरू निर्माण गरिन्छन् ।
३. प्रतिस्पर्धी क्षमताको दृष्टिबाट
संगठनको रणनीति सूचना प्रविधि क्षमताका आधारमा परिवर्तन पनि हुने सम्भावना रहन्छ । सूचना प्रविधिको भरपुर उपयोग गरेर नयाँ–नयाँ किसिमका उत्पादन तथा सेवाहरू नयाँ तरिकाले व्यवस्थित गर्न सकिन्छ र संगठनको प्रतिस्पर्धी क्षमता बढाउन सकिन्छ । संगठनको सूचना प्रविधिविज्ञले नयाँ विकसित भएका र हुँदै गरेका सूचना प्रविधि क्षेत्रका अवसरहरूलाई संगठनको रणनीतिअनुसार संगठनका लागि प्रयोग गराउन सक्नुपर्छ ।
४. सेवा प्रदान गर्ने तहको दृष्टिबाट
सेवा प्रदान गर्ने तहमा संगठनको रणनीति बाहिरी रूपमा भने देखिँदैन । यस स्तरमा संगठनको सूचना प्रविधिमा आधारित पूर्वाधारको ढाँचा मात्र देखिन्छ । सूचना प्रविधिमा आधारित पूर्वाधार स्थापित गर्न संगठनलाई प्रारम्भमा नै ठूलो लागत व्यहोर्नुपर्ने हुने गर्छ ।
समग्रमा भन्नुपर्दा, संगठनको आफ्नो रणनीति र सूचना प्रविधि रणनीति दुवैलाई उच्च व्यवस्थापनले राम्ररी ध्यानमा राख्नु आवश्यक हुन्छ । प्रायजसो सूचना प्रविधिका परियोजना असफल हुनुका पछाडि व्यवस्थापनले एकतर्फी रूपमा सूचना प्रविधि रणनीतिलाई मात्र ध्यान दिन पुग्नु एक प्रमुख कारणका रूपमा देखिन्छ । धेरै संगठनमा सूचना प्रविधि रणनीतिलाई एकपक्षीय हिसाबले सूचना प्रविधिविज्ञहरूका हातमा मात्र छोडिन्छ । तर, खोजेजस्तो परिणाम प्राप्त गर्नका लागि सूचना प्रविधि र सांगठनिक रणनीति दुवैलाई सँगसँगै एक–अर्कासँग मिलान गर्दै र समायोजन गर्दै अघि बढ्नुपर्ने हुन्छ ।

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०