सार्वजनिक प्रशासनमा नयाँ बहस

ट्रोमपेनार्स र हेम्पडन टर्नरले बहु–संस्कृति बुझ्न सातवटा पक्षमा ध्यान दिन सकिने भनी यो मोडल सन् १९९७ मा ल्याएका हुन् । यिनले धेरै मुलुकमा गरेको एक शोधले फरक संस्कृतिका मानिसका फरक कुरा सहजै पहिचान गर्दै प्रत्येक संस्कृतिका मूल्य—मान्यता, सोचाइ र प्राथमिकता थाहा पाएर सोहीअनुसार समायोजन गर्न सकिने बताउँछ ।
संगठनमा सहकर्मी, सेवाग्राही वा साझेदारहरू फरक पृष्ठभूमिबाट आएका हुन्छन्, कहिलेकाहीँ विवाद हुनु स्वाभाविक हो । बहुसंस्कृतियुक्त संगठनमा एकातिर अर्को संस्कृतिका विषयहरू सिक्न पाउनु राम्रो हो भने कहिलेकाहीँ अर्को संस्कृतिका कुरा मन नपर्न पनि सक्छन् ।
एक बहु—सांस्कृतिक संगठनमा कस्तो अवस्थामा सांस्कृतिक विवाद आउन सक्छ भन्ने सबैले बुझ्नुपर्छ । एउटा संस्कृति अर्को संस्कृतिभन्दा राम्रो वा नराम्रो भन्न नमिल्ने र पृष्ठभूमिअनुसार छनोट पनि फरक नै हुने गर्छ ।
यस मोडलमा संस्कृतिलाई विशेष स्केलद्वारा मापन गरिन्छ । व्यक्ति कुन देश र संस्कृतिबाट आएको हो त्यो हेर्दै सात पक्षमा केलाइन्छ । उसको संस्कृतिका यी पक्षमा आफ्नो संस्कृतिका पक्ष तुलना गरी आउने फरक अनुमान गरी संवाद सुरु गरिन्छ, एक–अर्काका विचार बुझिन्छ, फरक मत सम्मान गर्दै विवाद हल गरिन्छ । यी सात सांस्कृतिक पक्षको मूल्यांकन यस प्रकार गरिन्छ ।
- सर्वमान्य कि विशेष
संस्कृतिहरूमा सम्बन्धको हैसियत के—कस्तो भन्ने कुरालाई यस पक्षमा हेरिन्छ । समाजमा सामान्य नियम नै नैतिकताका शक्तिशाली स्रोत हुन् भनी सर्वमान्य सिद्धान्तका पक्षधर समाजले मान्छन् र नियमपालनालाई बढी जोड दिन्छन् । तर, विशेष सिद्धान्तका पक्षधर समाजमा नियमभन्दा माथि परिवार, सम्बन्ध र मित्रलाई राख्छन् । त्यस्ता संस्कृतिमा परिस्थिति र व्यक्तिअनुसार कार्य र व्यवहार 
परिवर्तन हुन्छ ।
- व्यक्तिवाद वा समुदायवाद
व्यक्ति–व्यक्ति र समूहका रुचिहरूबीच आउने द्वन्द्व यस पक्षमा हेरिन्छ । व्यक्तिवादी संस्कृतिमा मानिस आफ्नो ख्याल आफैँ राख्छ र कुनै व्यक्तिगत उद्देश्य पूरा गर्नु छ भने समूह प्रयोग गर्छ । तर, समुदायकेन्द्रित संस्कृतिमा समूहले विशेष स्थान पाउँछ । स्थानीय समाजहरू एक–आपसमा आबद्ध हुँदै आपसी ख्याल राख्छन् र कुनै व्यक्तिले तब मात्रै उन्नति गरेको मानिन्छ जब समूह पनि सँगसँगै उन्नत हुन्छ ।
- तटस्थ वा प्रभावग्रस्त
मानिसहरू कुनै सम्बन्धमा बाँधिनुका अवस्था, कारण र आफ्ना भावना कतिसम्म व्यक्त गर्छन् भनी हेरिन्छ । तटस्थ संस्कृतिमा मृदु, शान्त र आफँैमा रमाएर बसेको प्रशंसित हुन्छ, मानिस आफ्ना भावना अरूलाई भन्दैन । तर, प्रभावग्रस्त संस्कृतिमा अलि न्यानो, अभिव्यक्तिमुखी र अरूप्रति चासोको व्यवहार राम्रो मानिन्छ । 
- विशिष्ट वा फैलिएको
मानिसले आफ्नो परिवेशमा अरू मानिसलाई कसरी र कुन स्तरसम्म एकैनासको व्यक्तित्वद्वारा आकर्षित गर्छन् वा कुन स्तरसम्म विविध क्षेत्रमा अरूलाई एकैचोटि व्यस्त गराउन सक्छन् भन्ने विषय यसमा हेरिन्छ । विशिष्ट संस्कृतिमा व्यक्तिगत कार्य गोप्य र खुला दुवै प्रकारले राख्ने गरिन्छ । प्रत्येक सामाजिक समूहसँग अलग रूपमा सम्बन्ध गाँसिन्छ । तर, फैलिएको संस्कृतिमा जीवनका विविध पक्ष र सम्बन्धलाई आफ्नो आधिकारिक स्तरसमेतलाई ध्यान दिँदै एक–आपसमा गाँसिन्छ ।
- प्राप्ति वा मान
मानिसले अरूलाई सम्मान कसरी गर्छन् भन्ने यसमा हेरिन्छ । उपलब्धि वा प्राप्तिलाई ध्यान दिने देशहरूमा कसैले कुनै प्राप्ति गर्दा उसको सम्मान गरिन्छ । मान्ने संस्कृति भएका देशहरूमा कसैले समाजमा सफलता पायो भने चिनिन्छ । जस्तो कि शिक्षा, उपल्लो पद, राम्रो संगठनमा काम आदि ।
- शृंखलाबद्ध वा स्थिर 
मानिसले समय कसरी व्यवस्थित गर्छन्, यसमा हेरिन्छ । बितेकोलाई महत्व दिनेले पूर्वज र इतिहासलाई ध्यान दिन्छन् । वर्तमानलाई महŒव दिनेहरू अहिले रमाउँछन् र सम्बन्धहरू जोगाउँछन् । भविष्य हेर्नेहरू भावी दिनका सम्भावना र अवसर हेर्छन् । यसरी कालशृंखला मान्नेहरू योजना बनाउँछन् । तर, तीनै कालसँगै लिएर हिँड्ने संस्कृतिहरूमा सबै प्रकारका गतिविधि सँगसँगै चल्छन् र समयप्रति प्रतिबद्धता कम हुन्छ ।
- भित्र वा बाहिरबाट निर्देशित
प्रकृतिसँग मानिसको सम्बन्ध र उनीहरूले प्रकृतिलाई कहाँसम्म नियन्त्रण गर्न सक्छन् भन्ने यसमा हेरिन्छ । भित्रबाट निर्देशित संस्कृतिकाले वातावरणलाई नियन्त्रण गर्छन् । उनीहरू ठान्छन्, उनीहरू नै सबै क्रियाका सुरुवातकर्ता हुन् । बाहिरबाट निर्देशित संस्कृतिका मानिसहरू भने प्रकृतिबाट नियन्त्रित हुन्छन् । बाहिरी तत्वले नै कुनै क्रियालाई प्रारम्भ गर्छ भन्ने मान्छन् ।
यसरी यस मोडलले संगठनभित्र भिन्नै पाटो बुझ्न, द्वन्द्व कम गर्न र लागत घटाउन मद्दत गर्छ । नेपालको बहुसांस्कृतिक सार्वजनिक प्रशासनमा यो मोडल सबैतिर ग्राह्य छ । तथापि, यसको उपयोगिता परराष्ट्र सम्बन्ध, अन्तर्राष्टिय समुदायसँग वार्ता तथा अन्तर्राष्टिय संघ–संगठनका व्यक्तिहरूसँग हुने वार्तालापमा विशेष उपयोगी छ ।

Comments

Popular posts from this blog

शासनका आधारभूत पक्षहरु के-के हुन्? शासनको अवधारणा र यसका विशेषताहरु उल्लेख गर्नुहोस् ।

शासनको राजनैतिक तथा प्रशासनिक संरचनाबारेमा चर्चा गर्नुहोस् ।

सार्वजनिक व्यवस्थापन भनेको के हो ? यसको कार्यक्षेत्रमाथि प्रकाश पार्नुहोस् । १०