नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्न रहेका बाधाहरूको पहिचान गरी ती बाधा हटाउन के के गर्नुपर्दछ ? सुझाब दिनुहोस् ।
तिफलको अपेक्षा गरी मुलुकबाहिरबाट गरिने लगानीलाई प्रत्यक्ष वैदेशिक लगानी भनिन्छ । यसअन्तर्गत सेयर लगानी, प्राविधिक लगानी वा पुँजी लगानी पर्दछ । नेपालको संविधानको धारा ५१ मा वैदेशिक लगानी गर्दा स्वदेशी उद्यमलाई असर नपर्ने गरी गर्नुपर्ने उल्लेख गरिएको छ । पन्ध्रौँ योजनाको आधारपत्र र नेपालमा सम्पन्न लगानी सम्मेलनले समेत वैदेशिक लगानी बढाई मुलुकको आर्थिक वृद्धि र विकासमार्फत सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक पार्ने विषयलाई प्राथमिकता दिएका छन् । यद्यपि, प्रशासनिक जटिलता, पूर्वाधारको कमी र खराब श्रम सम्बन्धका कारण नेपालमा प्रत्यक्ष लगानी बढ्न सकेको देखिँदैन ।
प्रत्यक्ष वैदेशिक लगानी गर्नमा देखिएका बाधा
- छिटो–छिटो लगानी नीतिहरू परिवर्तन हुनु ।
- लगानीबाट आर्जित मुनाफा फिर्ता लैजाने प्रक्रिया झन्झटिलो हुनु ।
- प्रशासनिक शीघ्रताको अभावले लगानीकर्ता आकर्षित हुन नसक्नु ।
- वैदेशिक लगानीको क्षेत्रमा अनियमितता विद्यमान रहनु ।
- बन्द हडताल एवं खराब श्रम सम्बन्धका कारण प्रतिफलको सुनिश्चितता नहुनु ।
- राजनीतिक द्वन्द्वका कारण उद्योग, प्रतिष्ठानमा आक्रमण र बम विस्फोट हुनु ।
- नेपालको आन्तरिक बजार तुलनात्मक रूपमा सानो हुनु ।
- आवश्यक सीपयुक्त जनशक्तिको न्यूनता हुनु एवं नेपालमा श्रमको मूल्य महँगो हुँदै जानु ।
- वैदेशिक लगानीको क्षेत्रमा कार्यरत निकायहरूबीच संस्थागत समन्वयको अभाव हुनु ।
- परियोजना बैंक बन्न नसक्नु ।
- समपूरक कोषको व्यवस्था हुन नसक्नु ।
- पूर्वाधार विकास हुन नसक्नु ।
- जग्गाप्राप्तिमा कठिनाइ हुनु ।
- स्थानीय माग र आकांक्षा बढ्नु ।
- लगानीमुखी सोचको अभाव रहनु ।
प्रत्यक्ष वैदेशिक लगानी गर्नमा देखिएका बाधा हटाउने उपाय
- प्रत्यक्ष वैदेशिक लगानीलाई आमन्त्रण र आकर्षण गर्न दीर्घकालीन लगानी नीति तर्जुमा गर्ने ।
- लगानीबाट आर्जित मुनाफा फिर्ता लैजाने प्रक्रियालाई सहज र सरल बनाउने ।
- प्रशासनिक प्रक्रियालाई सहज र सरल बनाउने ।
- वैदेशिक लगानीलगायत सबै क्षेत्रका अनियमितता रोक्ने ।
- लगानीकर्ता र श्रमिकबीच असल श्रम सम्बन्धको विकास गर्ने ।
- मुलुकमा असल राजनीतिक संस्कारको विकास गर्ने, बन्द हडताललगायत उद्योग प्रतिष्ठानमा देखिएका बाधा सदाका लागि हटाउने ।
- प्रत्यक्ष वैदेशिक लगानीको आकर्षणका लागि अध्ययन र अनुसन्धान एवं क्षमता विस्तार गर्ने ।
- प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रमा कार्यरत निकायहरूबीच संस्थागत समन्वय कायम गर्ने ।
- बजार विस्तारमा ध्यान दिने ।
- तत्काल परियोजना बैंक गठन गर्ने ।
- समपूरक कोष र जगेडा कोषको व्यवस्था गर्ने ।
- जग्गाप्राप्तिका काठिन प्रबन्धहरूलाई सरल बनाउने ।
- लगानीमुखी सोच र व्यवहारको विकास गर्ने ।
- केही समय कर छुट वा प्रबर्द्धनात्मक उपाय अवलम्बन गर्ने ।
- लगानीका लागि दलहरूबीच मतैक्य कायम गर्ने ।
निष्कर्ष ; नेपालजस्तो अल्पविकिसत मुलुकको आर्थिक सामाजिक विकास र गरिबी निवारण गर्न प्रत्यक्ष वैदेशिक लगानीको महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा दिगो आर्थिक विकास गरी सुखी नेपाली समृद्ध नेपालको लक्ष्य पूरा गर्न प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनु आजको आवश्यकता हो । यसका लागि सरकार र साझेदार निकायहरूबीच सार्थक समन्वय एवं आपसी विश्वासको विकास गर्नु आजको आवश्यकता हो ।
Comments
Post a Comment